अत्तरिया– सुदूरपश्चिमका सडकमा सवारी दुर्घटनाको जोखिम अझै कम हुन सकेको छैन । ट्राफिक नियम पालना गराउन प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहे पनि दुर्घटनाको तथ्यांकले सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखाएको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै प्रदेशका नौवटै जिल्लामा झन्डै तीन सय सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् भने सयौँ नागरिक घाइते भएका छन् ।
सवारीसाधनको बढ्दो चाप, सडक प्रयोगकर्तामा ट्राफिक अनुशासनको कमी, तीव्र गति तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिले सडक सुरक्षामाथि प्रश्न उठाइरहेका बेला सार्वजनिक भएको यो तथ्यांकले दुर्घटना न्यूनीकरणका लागि भइरहेका प्रयास पर्याप्त हुन नसकेको संकेत गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार कात्तिक १ गतेदेखि २९ गतेसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा २९८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । दुर्घटनामा परेर ४३२ जना सामान्य घाइते भएका छन् ।

दुर्घटनाको संख्या मात्रै होइन, ट्राफिक नियम उल्लंघन गर्ने चालकको संख्या पनि उत्तिकै चिन्ताजनक देखिएको छ । प्रहरीले कात्तिक महिनाको उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३९२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । कारबाहीबाट २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४३२ जना चालकलाई कारबाही गरिएको छ । उनीहरूबाट २ लाख ४५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर जोखिमयुक्त सडक तथा दुर्घटना बढी हुने स्थानमा सुधारका काम अघि बढाइएको बताएका छन् । उनका अनुसार दुर्घटनाको सम्भावना बढी रहेका स्थान पहिचान गरी सडकमा राखिएका चेतनामूलक बोर्डको मर्मत तथा सुधार भइरहेको छ । हालसम्म ८५ स्थानमा यस्ता बोर्डको मर्मत तथा सुधार गरिसकिएको छ भने अन्य जोखिमयुक्त स्थानमा पनि आवश्यक सुधारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
सडक सुरक्षालाई केवल चालकको जिम्मेवारीमा सीमित नगरी पैदल यात्रुको सुरक्षालाई समेत ध्यान दिँदै कार्यक्रम अघि बढाइएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा पैदल यात्रुलाई सहज र सुरक्षित रूपमा सडक पार गर्न जेब्राक्रस निर्माण तथा सुधार गर्ने कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको प्रहरी उपरिक्षक कार्कीले बताए । विशेषगरी धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा सवारीसाधनको चापसँगै लेन अनुशासन कायम गराउने विषयलाई प्रहरीले प्राथमिकता दिएको उनले बताए । उक्त सडकखण्डमा चालकलाई निर्धारित लेन प्रयोग गर्न तथा ट्राफिक नियम पालना गर्न आग्रह गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक अभियानलाई पनि तीव्रता दिएको छ । कात्तिक १ देखि २९ गतेसम्म चालक, सहचालक, यातायात व्यवसायी, विद्यार्थी तथा अन्य सडक प्रयोगकर्तालाई लक्षित गरी ८४० पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रमबाट ७६ हजार ६१९ जना लाभान्वित भएको प्रहरी उपरिक्षक कार्कीको भनाइ छ । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्न पनि प्रहरीले कारबाही अघि बढाएको छ । निर्धारित क्षमताभन्दा बढी यात्रु बोकेका दुईवटा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । त्यसैगरी, सहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको अव्यवस्थित पार्किङले ट्राफिक आवागमनमा समस्या सिर्जना गर्न थालेपछि स्थानीय तह र व्यवसायीसँग समन्वय गरी व्यवस्थापनको प्रयास भइरहेको प्रहरी उपरिक्षक कार्कीले बताए ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक भौतिक सामग्रीको व्यवस्थापनमा समेत पहल गरिएको उनले बताए । सडक डिभिजन कार्यालय डोटी र डिभिजन सडक कार्यालय दिपायलसँगको समन्वयमा प्रहरीले ३५ थान ट्राफिक कोन र २० थान कनेक्टर प्राप्त गरेको बताईएको छ । ती सामग्री सडकमा सवारी आवागमन व्यवस्थित गर्न तथा जोखिमयुक्त स्थानमा ट्राफिक नियन्त्रण र व्यवस्थापनका लागि प्रयोग गरिने प्रहरी उपरिक्षक कार्कीले बताए ।
सुदूरपश्चिममा सडकको कमजोर अवस्था, साँघुरा तथा घुम्ती सडक, तीव्र गति, चालकको लापरबाही र ट्राफिक नियमप्रतिको बेवास्ता सडक दुर्घटनाको प्रमुख चुनौतीका रूपमा देखिएका छन् । पहाडी जिल्लाका सडकमा भौगोलिक बनावट र पर्याप्त सुरक्षा पूर्वाधारको अभावले जोखिम थप बढाएको छ भने तराईका जिल्लामा सवारीसाधनको चाप, अव्यवस्थित पार्किङ, लेन अनुशासनको कमी र पैदल यात्रुका लागि सुरक्षित आवागमनको व्यवस्था नहुनुले दुर्घटनाको सम्भावना बढाइरहेको छ । त्यसैगरी, पुराना तथा प्राविधिक अवस्था कमजोर भएका सवारीसाधनको सञ्चालन, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यवहार पनि सडक सुरक्षाका प्रमुख बाधक हुन् । यस्ता समस्या न्यूनीकरणका लागि ट्राफिक प्रहरीको कारबाहीसँगै सडक पूर्वाधार सुधार, नियमित सवारी परीक्षण र चालक तथा नागरिकमा जिम्मेवार सडक व्यवहारको विकास आवश्यक देखिन्छ ।




















