बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले मंसिर २ गते स्थानिय सार्वजनिक बिदा दिएको छ । प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नगरपालिकाले मंसिर २ गते बुधबार स्थानीय सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार दशरथचन्द नगरपालिका- ८ स्थित त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने जात्रालाई मध्यनजर गर्दै नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय तथा शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।


रणशैनी भगवतीका नामले समेत परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य जात्रा लाग्ने गर्दछ । यस वर्ष जात्रा मंसिर १ र २ गते लाग्ने त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले जानकारी दिए ।
जात्रालाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी भइरहेको समितिले जनाएको छ । भक्तजनलाई पूजासामग्री चिउरीको दुनामा ल्याउन आग्रह गरिएको छ भने मन्दिर आसपासको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्रिपुरासुन्दरीको जात्रामा नेपालका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।


















