बैतडी– बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ । यही मंसिर १ र २ गते लाग्ने जात्रालाई मध्यनजर गर्दै आईतबार सुरक्षाकर्मीहरुले मन्दिर परिसरको सरफाई गरेका हुन् ।

सरसफाईमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुको सहभागिता रहेको थियो । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य जात्रा लाग्ने गर्दछ । उक्त जात्राको अवसरमा जाग्राम बस्ने भक्तजनहरु आईतबारदेखि नै मन्दिरमा जाग्राम बसेका त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले जानकारी दिए । तीन दिनसम्म पानी समेत नखाइ मन्दिरमा जाग्राम बस्ने चलन रही आएको उनले बताए ।

त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरु मन्दिरमा पुग्ने थापाले बताए । यो जात्रामा सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।


















