कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ८ सुन्दरनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा ओखरसहित चारवटा साइकल बरामद गरेको छ ।
शनिबार राति करिब ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ५९० केजी ओखरसहित ढुवानीमा प्रयोग गरिएका चारवटा साइकल नियन्त्रणमा लिएको हो ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतका देविस्थान सीमा सुरक्षा गुल्म, बीओपी सुन्दरनगर र बीओपी कञ्जभोजबाट खटिएका तीनवटा टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा उक्त सामान फेला पारेका थिए ।
सशस्त्र प्रहरीका अनुसार बरामद ओखरको मूल्य २ लाख ९५ हजार रुपैयाँ र चारवटा साइकलको मूल्य २० हजार रुपैयाँ मूल्याङ्कन गरिएको छ ।
बरामद सामानको कुल मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ । बरामद ओखर तथा साइकल आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



















