खाेज्नुहाेस

छठ पर्व अन्तर्गत आज ‘खरना’

Image

शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्।

ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत रस्याउ रोटी खान अग्रिम निम्तो दिने गर्छन्। रस्याउ रोटी खाने व्रतालु तथा अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गर्ने परम्परा छ।

attariya hospital
navjiwan hospital

शनिबार साँझ रस्याउ रोटी ग्रहण गरेपछि ब्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार ब्रत बस्नेछन्। आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्र उनीहरूले ब्रत समापन गर्नेछन्। आइतबार साँझ ब्रतालु तथा उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका आकर्षक छठ घाटमा पुग्नेछन्।

नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजाका सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउने चलन छ। विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन्।

छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसपछि उनीहरू घण्टौंसम्म घाटमै बसेर पूजाअर्चना गर्नेछन्। केही ब्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन्। कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त तथा छरछिमेकीसमेत पूजाअर्चनाका लागि सहभागी हुन्छन्। घाटमै बस्ने ब्रतालु भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने गर्छन्।