खाेज्नुहाेस

सुदूरपश्चिम समावेशी विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण

Image

अत्तरिया– कैलालीको अत्तरियास्थित सुप समावेशी आधारभूत विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको शौचालय विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी निर्माण गरिएको हो। शौचालय निर्माणपछि अपाङ्गता भएका विद्यार्थीलाई सहज र पहुँचयुक्त रूपमा सेवा लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

attariya hospital

छठ पर्वको अवसरमा बिहीबार आयोजित चियापान तथा भेटघाट कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा विष्टले नवनिर्मित शौचालयको उद्घाटन गरेकी थिइन्। उनले शौचालयको स्थलगत अवलोकनसमेत गरेकी थिइन्।

navjiwan hospital

शिक्षक अभिभावक संघका अध्यक्ष तथा गोदावरी नगरपालिका–२ का वडा सदस्य डबलसिंह साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य विष्ट प्रमुख अतिथि तथा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं समाजसेवी विनोद मल्ल विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा कैलाली र कञ्चनपुरका अपाङ्गता अधिकारकर्मी, शिक्षक, कर्मचारी तथा अपाङ्गता भएका व्यक्तिसहित ४५ जनाभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले आपसी परिचय आदानप्रदान गर्दै छठ पर्वको शुभकामना साटासाट गरेका थिए।

सोही अवसरमा दृष्टिविहीन संघ कैलालीका नवनिर्वाचित अध्यक्ष जगत चौधरीलाई विद्यालय परिवारले फूलमाला तथा अबिर लगाएर बधाई तथा शुभकामना व्यक्त गरेको थियो।

कार्यक्रममा विनोद मल्लले आगामी मंसिर २ देखि ६ गतेसम्म सञ्चालन हुने युवा स्वास्थ्य महोत्सवमा अपाङ्गता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने जानकारी दिए। उनले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सवालका विषयमा विशेष प्यानल छलफलसमेत सञ्चालन गर्ने बताए।

विद्यालयकी प्राध्यापक देवी साउदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रधानाध्यापक मानबहादुर साउँदले विद्यालयको वर्तमान अवस्था तथा भावी कार्ययोजनाबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका सदस्य अनिल मल्लले गरेका थिए।