मकवानपुर – मकवानपुरकाे भीमफेदी गाउँपालिका– ६ स्थित चिसापानीगढीमा आज बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ।

समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर तथा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्।

समितिले दुर्घटनाग्रस्त सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजतको अवस्था, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ। साथै, आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले अपनाउनुपर्ने उपायसमेत प्रतिवेदनमा समेटिने प्रजिअ अधिकारीले जानकारी दिए।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठुला दुर्घटना भएको उल्लेख गर्दै अधिकारीले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए। उनका अनुसार सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त उपाय होइन।
आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनाको कारणबारे समितिले छानबिन सुरु गर्नेछ।
















