अत्तरिया – सुदूरपश्चिम प्रदेशभर रहेका मुद्दा चल्ने प्रहरी कार्यालयहरूमध्ये इलाका प्रहरी कार्यालय मालाखेतीले उत्कृष्ट काम गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर, कञ्चनपुरले गरेको अनुगमनका क्रममा मालाखेती प्रहरीले मुद्दा फछ्रौटमा उत्कृष्ट काम गरेको पाइएको हो ।
प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहद्वारा जारी सर्कुलरमा प्रदेशका अधिकांश प्रहरी कार्यालयहरूमा गम्भीर तथा जघन्य प्रकृतिका पेन्डिङ मुद्दाको संख्या बढ्दै जाँदा समग्र कार्यसम्पादनमा नकारात्मक असर परिरहेको उल्लेख गरिएको छ ।


प्रहरी प्रधान कार्यालय नक्साल र प्रदेश प्रहरी कार्यालय धनगढीबाट पटक–पटक पत्राचार र अनुगमन गर्दा पनि धेरैजसो कार्यालयहरूमा अपेक्षित सुधार आउन नसकेको सन्दर्भमा मालाखेती प्रहरीले भने प्रशंसनीय सुधार देखाएको छ ।
पत्र अनुसार, कार्तिक १९ गते प्रदेश कार्यालयबाट गरिएको अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीले चालु आर्थिक वर्षमा मात्रै ८ वटा गम्भीर तथा जघन्य प्रकृतिका पेन्डिङ मुद्दाहरूसहित कुल ११ वटा मुद्दा सफलतापूर्वक फछ्रौट गरेको उल्लेख छ ।
सुदूरपश्चिमका अन्य प्रहरी कार्यालयहरूको तुलनामा मालाखेती प्रहरीको कार्यसम्पादन उत्कृष्ट पाइएपछि प्रदेश कार्यालयले अन्य सबै मुद्दा चल्ने प्रहरी कार्यालयहरूलाई पनि मालाखेतीकै शैलीमा गम्भीर तथा जघन्य मुद्दा फछ्रौटतर्फ विशेष पहल गर्न र फछ्रौट दरमा वृद्धि ल्याउन कडा निर्देशन दिएको छ ।


















