बाजुरा – बाजुराको पूर्वोत्तर भेगको जगन्नाथ गाउँपालिकामा विषालु जंगली घाँस खाँदा २३ भेडा मरेका छन् । वडा–६ तल्लो काप्रीका मनजन विष्टका ११ वटा र अलि विष्टका १२ वटा भेडा गोठमै मरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगन सिंह भाटले जानकारी दिएका छन् ।

विष्टले गोठमा बाँधेर राखेका भेडा बिरामी भएर एकाएक मर्न थालेको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । सुरुमा अलि विष्टका ३८ र मनजन विष्टका २१ वटा भेडा बिरामी परेको जानकारी आएपछि जगन्नाथ गाउँपालिकाको पशु शाखासँग समन्वय गरी प्राविधिक टोली पनि घटनास्थल पुगी बिरामी भेडाको उपचारमा खटिएको थियो ।

जगन्नाथ गाउँपालिका पशु शाखाका प्रमुख नरबहादुर बुढाले प्राविधिक टोलीले जाँच गर्दा भेडाले जंगलमा विषालु घाँस चरेका कारण विष लागेर मृत्यु भएको बताए । बिरामी भएका भेडाको औषधोपचार भइरहेको गाउँपालिकाको छ ।
शनिबार दिउँसो गाउँनजिकैको जंगलमा चराएर गोठमा राखिएका भेडा एकाएक बिरामी भएर मर्न थालेपछि भेडापालक किसान चिन्तित भएका छन् । किसानका अनुसार पेट सुन्निने, ¥याल निकाल्ने लक्षण देखिएपछि भेडा मरेका थिए ।

















