अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ मा भिमदत्त राजमार्गको पुलमुनि एक युवक मृत अवस्थामा फेला परेका छन् । आइत्बार बिहान गोदावरी नगरपालिका–४ निवासी अम्मर रानामगरका २७ वर्षीय छोरा शेरबहादुर रानामगर पुलमुनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राजमार्गको पहाड–तराई जोड्ने पक्की पुलको दायाँतर्फ करिब ५० मिटर तल उनी उत्तानो परेको अवस्थामा फेला परेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक दिनेश बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको नेतृत्वमा घटनास्थल अनुसन्धान टोली (एसओसीओ) सहितको टोली खटाएको जनाएको छ । मृतकको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















