अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको मोटरसाइकल चालकलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ । गत कार्तिक १ गते साँझ खुटिया पुल नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ६१ वर्षीया तारा देवी धामीलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा महराका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको खोजी गर्ने क्रममा कैलालीको चुरे गाउँपालिका–६ का १९ वर्षीय प्रदीप बैजाली मगरलाई काठमाडौंस्थित स्वयम्भूबाट फेला पारी नियन्त्रणमा लिइएको बताए ।


यसअघि कार्तिक १ गते साँझ खुटियाबाट स्याउलेतर्फ आउँदै गरेको नम्बर ४२६९ को मोटरसाइकलले सडकमा हिँडिरहेकी धामीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको पुरा नम्बर नखुलेकाले खोजी कार्यमा ढिलाई भएको प्रहरीका भनाइ छ । हाल घटनामा संलग्न मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि मोटरसाइकलसहित चालक फरार रहेपछि पीडितका आफन्त तथा स्थानीयले चालक र मोटरसाइकल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै स्याउले बजारमा चक्काजामसमेत गरेका थिए ।
कार्तिक १२ गते पीडित पक्षले गरेको चक्काजामपछि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी महराले चालक पक्राउ गर्ने प्रतिबद्धता जनाए पछि चक्काजाम खुलेको थियो ।


















