खाेज्नुहाेस

स्वास्थ्य महोत्सवमा लक्षित समुदायको सहभागिता बढाउन चेम्बरले थाल्यो पहल

Image
अत्तरिया – कैलालीको गोदावरीमा आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सवमा लक्षित समुदायको सहभागिता बढाउन चेम्बर अफ कमर्सले पहल थालेको छ । ‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने मूल नाराका साथ आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म गोदावरी नगरपालिका–२ तेघरीस्थित पार्टनर प्यालेसमा सञ्चालन हुने महोत्सवमा बढीभन्दा बढी नागरिकको सहभागिता सुनिश्चित गर्न चेम्बरले तीन वटा स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको हो ।
attariya hospital
चेम्बरले गोदावरी, कृष्णपुर र गौरीगंगा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सदस्य तथा स्वास्थ्य शाखा प्रमुखलाई पत्राचार गर्दै महोत्सवबारे आ–आफ्नो वडा र टोलमा सूचना प्रवाह गर्न अनुरोध गरेको नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्चिम अध्यक्ष विनोद मल्लले बताए ।
विशेष गरी एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा किशोर किशोरीलाई महोत्सवमा सहभागी गराउन आवश्यक पहल गरिदिन चेम्बरले आग्रह गरिरहेको उनले बताए । यसका लागि अस्पताल, हेल्थ पोस्ट, वडा स्वास्थ्य क्लिनिक तथा स्वास्थ्य स्वयंसेविकामार्फत समेत समुदायमा जानकारी पुर्‍याउन अनुरोध गरिएको उनको भनाइ छ ।
समृद्ध सुदूरपश्चिम अभियान, नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, चेम्बर कैलाली, गोदावरी र युवा चेम्बरले आयोजना गर्ने महोत्सवमा स्वास्थ्य सचेतना, स्वास्थ्य परीक्षण, विशेषज्ञसँग संवाद, युवा सहभागिता तथा स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
navjiwan hospital
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवले विशेष गरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा विभिन्न कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका समुदायलाई स्वास्थ्यसम्बन्धी जानकारी, परीक्षण र परामर्शको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा एक दर्जनभन्दा बढी स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महोत्सवमा मानसिक स्वास्थ्य तथा कुलत नियन्त्रण, तनाव व्यवस्थापन, आत्महत्या रोकथाम, महिला तथा किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, रक्त अल्पता, पाठेघरको मुखको क्यान्सर परीक्षण, आँखा तथा दन्त परीक्षणलगायतका सेवा तथा कार्यक्रम समावेश गरिने जनाइएको छ ।
त्यसै गरी मधुमेह, उच्च रक्तचाप, मुटु रोग, पोषण, खाद्य स्वच्छता, योग तथा ध्यानसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शको व्यवस्था गर्ने आयोजकको तयारी छ ।
सुरुमा कार्तिक १३ देखि १८ गतेसम्म गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा आयोजना गर्ने तयारी गरिएको महोत्सव मौसम प्रतिकूल हुने पूर्वानुमानपछि स्थगित गरी मंसिर २ देखि ६ गतेसम्मका लागि सारिएको थियो ।