कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ । धार्मिक पर्यटनमार्फत नेपालको पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने उद्देश्यले २०७५ सालदेखि मूर्ति निर्माणको काम सुरु गरिएको हो । हालसम्म मूर्तिको ३९ फिट ढलान सम्पन्न भइसकेको निर्माण समितिका अध्यक्ष जनक जोशीले जानकारी दिएका छन् ।

बजेट अभावका कारण केही समय रोकिएको निर्माण कार्य यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेपछि पुनः अघि बढेको छ । मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्ने जनाइएको छ ।

भम्केनी धाम मन्दिर व्यवस्थापन समितिका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा धामका लागि ३ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ । धाममा सुदूरपश्चिमका नौवटै जिल्लाका छुट्टाछुट्टै कुण्ड निर्माण गरिएका छन् ।
नेपाल आमाको मूर्ति निर्माण सम्पन्न भएपछि भम्केनी धामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


















