अत्तरिया – प्रशासनले कैलालीको स्याउलेमा कार्तिक १ गते वृद्धालाई ठक्कर दिएर भागेको मोटरसाइकल २ दिन भित्र नियन्त्रणमा लिने प्रतिवद्धता जनाएको छ । गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएकी गोदावरी नगरपालिका – ८ स्याउलेकी ६१ वर्षीय तारा देवी धामीलाई खुटियामा सडक पार गर्ने क्रममा मोटरसाइकल ठक्कर दिएर भागेका दोषिलाई पक्राउ गर्न माग गर्दै चक्काजाम गरिएपछि प्रशासनले उक्त प्रतिवद्धता जनाएको हो ।

आफन्तले लामो समय देखि फरार भएको मोटरसाइकललाई पक्राउ गर्न आनाकानी गरेको भन्दै बिहिबार स्याउले बजारमा आधा घण्टा चक्काजाम गरेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले आगामी दुईदिन भित्र चालकलाई पक्राउ गर्ने प्रतिवद्धतापछि चक्काजाम खुलेको थियो ।
मोटरसाइकल ठक्करबाट गम्भीर घाइते तारादेवीको हाल धनगढीस्थित निसर्ग अस्पतालको आइसियुमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समेत समस्या देखिएको छ ।



















