बंगालको खाडीमा विकसित अतिशक्तिशाली चक्रवात अर्नबको असरले आज बिहीबार देखि शनिबारसम्म नेपालमा वर्षा र हिमपात हुने भएको छ । बिहीबार राति प्रभाव बढेर शुक्रबार र शनिबार भने देशका धेरै ठाउँमा पानी पर्ने तथा केही ठाउँमा ठुलो वर्षा हुने आकलन नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले चक्रवातको प्रभावले बुधबारदेखि बादल लाग्न थाले पनि बिहीबारदेखि असर बढ्ने बताए । ‘वर्षा बिहीबारदेखि नै सुरु हुने देखिन्छ । तर, शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षा पनि हुन्छ,’ उनले भने, ‘यो प्रणालीले विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा अलि जोखिम छ । त्यहाँ विपत् निम्तिन सक्छ । समग्रमा धानबाली र पर्यटन क्षेत्र प्रभावित हुने देखिन्छ ।’

महाशाखाले बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीमा बनेको अर्नब चक्रवात भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान करिब ८M१५ बजे जमिनमा प्रवेश गरिसकेको छ । चक्रवात आफैँमा कमजोर हुँदै गए पनि त्यसले बोकेर ल्याएको शक्ति -जलवाष्पयुक्त हावा_ उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । बिहीबार बिहानसम्म न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । ‘चक्रवातले नेपालमा सिधै असर गर्ने होइन । त्यसले बोकेर ल्याएको शक्ति कहाँसम्म पुग्छ भन्ने हो । बिहार र उत्तरप्रदेशसम्म यसको असर देखिन्छ । जलवाष्पयुक्त हावा नेपालमा पनि आउने र वायुमण्डलमा फैलिँदा पानी पर्ने हो,’ उनले भने ।




















