खाेज्नुहाेस

कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न कञ्चनपुर प्रशासनको आग्रह

Image

कञ्चनपुर– चाडपर्वको अवसर पारेर बजारमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बिहिबार साँझ एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा उपभोक्तालाई मर्का पार्ने गरी कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र गुणस्तरहिन वस्तु विक्रि नगर्न आग्रह गरेका हुन् ।

सूचनामा उनले चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न अनुरोध गरेका छन् । उनले बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, सङ्घसंस्थालगायतले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सहयोग गर्नुपर्ने बताए ।

attariya hospital
navjiwan hospital

उनले चाडपर्वका बेला मनोरञ्जनका नाममा प्रयोग हुने पदार्थहरू आतिसबाजी, भुइँचम्पा, पटाका, बारूद, अन्य विस्फोटक तथा आगलागी हुने वस्तुहरूको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्न÷नगराउनसमेत आग्रह गरे । अनलाइन सपिङ (किनमेल), गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिहरूका अफर तथा स्क्यामहरूबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे ।

उनले परम्परागत रूपमा मनाइने चाडपर्वहरूको सम्मान र संरक्षण गरी सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्दै तडकभडक र अवान्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई सामाजिक सद्भाव र भाइचारा कायम गरी चाडपर्व मनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी चाडपर्वको समयमा अत्यावश्यक तथा आपत्कालीन सेवाहरू अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, जनशक्ति, इन्धन लगायत तयारी अवस्थामा राख्ने र बदलिन सक्ने मौसमबाट हुनसक्ने जोखिमका लागि पूर्वतयारीको अवस्थामा रहन प्रशासन मातहतका सबैलाई अनुरोध गरे ।

चाडपर्वको बहानामा गैरकानुनी गतिविधिहरू जुवातास, चिठ्ठा, कौडा, सट्टेबाजी नगर्न÷नगराउन आग्रह गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।