खाेज्नुहाेस

धनगढी क्षेत्रमा ६ घण्टामा ६४ मिलिमिटर वर्षा, धान बालीमा क्षति

Image
फाेटाे : रमेश अयडी

अत्तरिया – कैलालीको पश्चिमी क्षेत्रमा आज बिहान एक्कासि ठुलो वर्षा भएको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा मात्रै ६४.४ मिलिमिटर वर्षा मापन गरिएको छ । जुन छोटो समयमा परेको ठुलो वर्षा भएको कार्यालयका प्रमुख सञ्जय शाहले बताए ।
उनका अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभावले वर्षा भइरहेको बताए । उनले अझै यस क्षेत्रमा तीन दिन वर्षाको सम्भावना भए पनि वर्षा घट्दै जाने बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको पूर्वी क्षेत्र लम्कीमा पनि पछिल्लो ६ घण्टामा १८ मिलिमिटर वर्ष मापन गरिएको छ । यस्तै कञ्चनपुरको कृष्णपुरमा ३.२ मिलिमिटर र भम्का क्षेत्रमा पछिल्लो ६ घण्टामा २.४ मिलिमिटर वर्षा भएको छ ।

attariya hospital

यस्तै प्रदेशका पहाडी जिल्लाहरूमा पनि पछिल्लो ६ घण्टामा १० देखि २० मिलिमिटर सम्म वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

navjiwan hospital

मौसम पूर्वानुमान महाशाखाले निकालेको तिन दिने बुटेलिटमा असोज २३ गते सम्म देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बुधवार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखाइएको थियो । बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र शुक्रवार कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

धान बालीमा क्षति

कैलाली र कञ्चनपुरमा बुधवार बिहान देखि भइरुहेको वर्षाका कारण धान बालीमा ठुलो क्षति पुगेको छ । सोमबार राति र बुधवार बिहान परेको वर्षाले पाकेर काट्ने तयारीमा रहेको धान तथा काटेर खेतमै राखिएको धानमा नोक्सानी पुगेको हो ।

काटेको धान खेतमै रहेका बेला पानी परेपछि भिजेको छ । पटक पटक वर्षा भइरहेकाले काटेको धान सुकाएर सुरक्षित रूपमा भित्र्याउनसमेत किसानलाई समस्या भएको छ ।