काठमाण्डौंँ – पछिल्ला चार दिनको अविरल वर्षा, बाढी र पहिरोका कारण विभिन्न जिल्लामा कम्तीमा २१ जनाको मृत्यु र ५ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४१९ परिवारका १ हजार ४५१ जना विस्थापित भएका छन्।
सबैभन्दा बढी मानवीय क्षति बागलुङमा १० जनाको मृत्यु र १ जना बेपत्ता हुँदा पाल्पामा ५, म्याग्दीमा १ र धनुषामा १ जनाको मृत्यु भएको छ। अन्य जिल्लामा समेत बाढीपहिरोबाट जनधनको क्षति भएको छ।

गण्डकी प्रदेशमा १७९ घर पूर्ण र २६ घर आंशिक क्षति, २७० घर जोखिममा तथा १२ गोठ पूर्ण र एक गोठ आंशिक क्षति भएका छन्। ४४ पशु मरेका, ६ पुल पूर्ण र २ पुल आंशिक क्षति भएका छन्। तीन सरकारी कार्यालय पूर्ण, तीन आंशिक क्षति र नौ जोखिममा छन् भने ३ दुईपांग्रे र १५ चारपांग्रे सवारीसाधनमा क्षति पुगेको छ।
जिल्लागत विवरणअनुसार बागलुङमा २३ घर पूर्ण क्षति, ४ घर जोखिममा, २३ पशु मरेका र २६ घरका ८० जना विस्थापित भएका छन्। पर्वतमा १६ घर पूर्ण, ४ आंशिक र ८२ घर जोखिममा, १६२ परिवारका ५४० जना विस्थापित तथा तीन पुल क्षतिग्रस्त भएका छन्। कालीगण्डकीको बाढीले मालढुंगा पुलमा क्षति पुर्याउँदा पर्वत–बागलुङ यातायात ठप्प भएको छ।

नवलपरासी पूर्वमा १५ घर पूर्ण क्षति, १४८ जोखिममा र १६२ परिवारका ६१३ जना विस्थापित भएका छन्। स्याङ्जामा १३ घर पूर्ण क्षति, १० जोखिममा र २३ परिवारका ७२ जना विस्थापित भएका छन् भने बेलिब्रिजसहित दुई पुलमा क्षति पुगेको छ। तनहुँमा १० घर पूर्ण, ६ आंशिक र ८ जोखिममा, १८ घरका ५४ जना विस्थापित तथा एक जना घाइते भएका छन्।
लमजुङमा १ घर पूर्ण, ५ आंशिक र ४ जोखिममा, ८ घरका २८ जना विस्थापित र २ जना घाइते भएका छन्। कास्कीमा १ घर पूर्ण, ४ आंशिक र १ जोखिममा, दुई पशु मरेका तथा तीन घरका १० जना विस्थापित भएका छन्। गोरखामा ३ घर आंशिक, १२ जोखिममा, दुई गोठ पूर्ण क्षति र १३ घरका ४३ जना विस्थापित भएका छन्।
मनाङमा ४ घर पूर्ण, ४ आंशिक, एक गोठ, एक पुल र एक चर्च पूर्ण क्षति भएका छन्। मर्स्याङ्दी नदीको बाढीले ताल गाउँका ११ घर डुबानमा पारेको छ। म्याग्दीमा १ जनाको मृत्यु, १ घाइते र ३ बेपत्ता, ६ घर पूर्ण क्षति तथा चार घरका ११ जना विस्थापित भएका छन्। पोखरेबगरको पुलमा क्षति पुग्दा मुस्ताङ र म्याग्दीका केही पालिका सडक सम्पर्कबाट विच्छेद भएका छन्। मुस्ताङमा एक गोठ पूर्ण क्षति हुँदा १० पशु मरेका छन्।
पाल्पामा पहिरोमा ५ जनाको मृत्यु भएको छ। माथागढीमा लिलबहादुर घर्तीमगर, डीना घर्ती र झरना घर्ती मगर तथा रुप्सेमा शेरबहादुर चिदी र रिब्दीकोटमा कृष्णकुमारी सारूको मृत्यु भएको हो। कालीगण्डकीले रिडी, रानीमहल, राम्दी लगायतका क्षेत्रमा समेत क्षति पुर्याएको छ। धनुषाको मिथिला–११ मा पहिरोले घर पुरिँदा ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ।
यसैबीच नवलपरासी पूर्व र चितवनमा नेपाली सेनाले बाढी तथा डुबान प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। थप क्षतिको विवरण संकलन भइरहेको छ।


















