धनगढी – धनगढी उपमहानगरपालिका–१७ डमौलियामा स्थानीयवासीको आर्थिक सहयोग र श्रमदानबाट चौतारो निर्माण सुरु गरिएको छ। सार्वजनिक संरचना निर्माणका लागि हरेकपटक सरकारकै भर पर्नुभन्दा आफूले सक्ने काम आफैं गर्नुपर्छ भन्ने भावनाका साथ स्थानीयले चौतारो निर्माण अभियान अघि बढाएका हुन्।
वडा नम्बर १७ का समाजसेवी युवा पुष्पराज रानाको पहलमा पिपलबाटे क्षेत्रमा चौतारो निर्माण गर्न लागिएको हो। रानाकै पहलमा यसअघि वडा क्षेत्रभित्र पाँचवटा चौतारा निर्माण भइसकेका छन्।

‘हामीले हाम्रा ठाउँका लागि’ भन्ने अभियानअन्तर्गत निर्माण सुरु गरिएको चौतारोका लागि स्थानीयले नगद, निर्माण सामग्री तथा श्रमदानमार्फत सहयोग गरिरहेका छन्।

चौतारो निर्माणका लागि हालसम्म लालबहादुर चौधरीले २०० इँटा र २००५ रुपैयाँ नगद, भरत सिराडीले चौतारामा आवश्यक पर्ने सम्पूर्ण बालुवा र २ हजार ५ सय ५५ रुपैयाँ, सौगात ओझाले २ हजार रुपैयाँ, जितबहादुर खत्रीले दुई कट्टा सिमेन्ट, गंगाराम रानाले १ हजार ५५ रुपैयाँ, चन्द्रादेवी बोगटीले ५ सय २५ रुपैयाँ, राजेन्द्र छेडालले ५ सय ५ रुपैयाँ तथा सुशील चौधरीले ५ सय रुपैयाँसहित श्रमदान गरेका छन्।
समाजसेवी रानाले गाउँ तथा समुदायको आवश्यकता पूरा गर्न स्थानीयस्तरबाटै सहकार्य र सहभागिता जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार स्थानीयको सहयोग र श्रमदानबाट चौतारो निर्माण सम्पन्न गरिनेछ।
स्थानीय लक्ष्मीराज जोशीले चौतारो निर्माणका लागि वडा तथा सरकारबाट आवश्यक पहल हुन नसकेपछि समाजसेवी रानाको अगुवाइमा स्थानीयकै सहभागितामा निर्माण अघि बढाइएको बताए।
त्यस्तै, स्थानीय विन्तीराम चौधरीले जनप्रतिनिधिबाट पर्याप्त ध्यान नपुगेपछि गाउँवासीको सहयोगमा सार्वजनिक संरचना निर्माण गर्नुपर्ने अवस्था आएको बताए। स्थानीयको सहभागितामा निर्माण हुने चौतारोले गाउँवासीलाई विश्राम तथा सामाजिक भेटघाटका लागि उपयोगी स्थान उपलब्ध गराउने अपेक्षा गरिएको छ।

















