अत्तरिया – भोटेकोशीमा आएको बाढी प्रभावित परिवारको पीडा कम गर्न देशका विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित दृष्टि पाठशाला पनि सहयोग अभियानमा जोडिएको छ । विद्यालय परिवारले विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय प्रशासनबाट रकम संकलन गरी ५२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो ।
बाढीपहिरोका कारण घरबार, सम्पत्ति तथा आफन्त गुमाएका परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले आन्तरिक रूपमा सहयोग रकम संकलन गरेको जनाएको छ । सानो–सानो सहयोगबाट विपद्मा परेका नागरिकलाई ठूलो राहत पुग्न सक्ने विश्वाससहित विद्यालय परिवारले अभियान सञ्चालन गरेको हो ।


विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच संकलित ५२ हजार रुपैयाँ एन–प्याब्सन कञ्चनपुरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको दृष्टि पाठशालाका निर्देशक जङ्गबहादुर निदालले जानकारी दिए ।
निर्देशक निदालका अनुसार विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगको संस्कार सिकाउने उद्देश्यले अभियानमा सहभागी गराएको हो । विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा जिम्मेवारी भएको उनले बताए ।
‘विपद् जुनसुकै ठाउँमा भए पनि त्यसबाट प्रभावित नागरिकको पीडा हाम्रो पनि पीडा हो । विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी र विद्यालय प्रशासनको सामूहिक प्रयासबाट संकलन भएको यो रकम पीडित परिवारको राहतमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरेका हौँ,’ निर्देशक निदालले भने ।
उनले विद्यालयले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने बताए । विद्यार्थीलाई सानै उमेरदेखि सहयोग र सेवाभावको संस्कार विकास गराउन सके समाजप्रति उत्तरदायी नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

















