बैतडी – बैतडीमा भोलि दीप प्रज्वलन गरेर राष्ट्रिय शोक मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले दीप प्रज्वलन गरी शोक मनाउने कार्यक्रम तय भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मिना अर्यालद्वारा जारी सूचनामा दशरथ चन्द नगरपालिका – ४ गढी स्थित दशरथ चन्द सालिक परिसरमा दीप प्रज्वलन गरिने उल्लेख छ ।

सूचनामा सरकारले भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक, अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको अत्यन्तै ठुलो जनधनको क्षति, भौतिक संरचनाको विनाश तथा ठुलो सङ्ख्यामा नागरिकहरू प्रभावित भई हजारौँको मृत्युबाट देश नै शोकमग्न भएको अवस्थाले हामी सबैलाई अत्यन्तै दुखी र मर्माहत बनाएको उल्लेख छ ।

सूचनामा भनिएको छ ‘यो प्रलयकारी विपत्तिमा बैतडी जिल्लाका केही व्यक्तिहरू समेत सम्पर्कविहीन भएको अवस्था छ । यस शोकको घडीमा उक्त घटना घटेको १३ औँ दिन भदौ २२ गते सोमवार देशभर राष्ट्रिय शोक मनाउने निर्णय भए बमोजिम यस जिल्लामा समेत दीप प्रज्वलन गरी शोक मनाउने गरी कार्यक्रम तय गरिएकोले सबै महानुभावहरू उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्दछु ।’
दीप प्रज्वलन कार्यक्रम साँझ ६ बजे गरिने उल्लेख छ ।

















