खाेज्नुहाेस

धनगढीमा १८औँ हलिया मुक्त दिवस मनाईयो

Image

धनगढी– धनगढीमा १८औँ हलिया मुक्त दिवस मनाईएको छ । नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष पूरा भएको अवसरमा आईतबार धनगढीमा विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो ।

राष्ट्रिय मुक्त हलिया समाजको आयोजनामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन बहादुर भण्डारी, प्रदेश सभा सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा मुक्त हलियाहरूको उपस्थिति रहेको थियो ।

attariya hospital
navjiwan hospital

तत्कालीन सरकारले २०६५ भदौ २१ गते सुदूरपश्चिमका ९ र कर्णालीका ३ गरी १२ जिल्लामा रहेका हलिया परिवारलाई मुक्तीको घोषणा गरेको थियो । राष्ट्रिय मुक्त हलिया समाज महासंघका अनुसार १२ जिल्लामा प्रमाणीकरण भएका १६ हजार ९५३ मुक्त हलिया परिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवारले पुनःस्थापना प्याकेज प्राप्त गरिसकेका छन् । यस्तै, १ हजार १०४ मुक्त हलिया परिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता पाउन बाँकी रहेको जनाइएको छ ।

महासंघका अध्यक्ष रमेशराम कोलीका अनुसार प्रमाणीकरण भएकामध्ये १ हजार १३५ परिवारको पुनःस्थापना अझै हुन सकेको छैन । पुनःस्थापना हुन नसक्दा ती परिवारहरू विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । तत्कालीन मुक्त हलिया, मुक्त कमैया र कमलरीको स्थलगत अध्ययन कार्यदलका सदस्य हरि श्रीपाइलीले मुक्त हलिया परिवारको पुनःस्थापना कार्यमा ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले पुनःस्थापित परिवारलाई केवल बसोबासमा मात्र सीमित नराखी सीपमूलक तालिम र आयआर्जनका गतिविधिमा जोड्नुपर्ने बताए ।

यता सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘मुक्त हलिया, कमैया तथा कमलहरी पुनःस्थापना कार्यविधि’ निर्माण गरी मुक्त हलिया परिवारको पुनःस्थापनाका क्षेत्रमा तीव्र गतिमा काम भइरहेको जनाएको छ ।