कालिकोट – पहिरोले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक १६ घन्टापछि सुचारु भएको छ । शनिबार बेलुकी ७ बजेदेखि अवरुद्ध राजमार्ग आइतबार बिहान ९ बजे सुचारु भएको हो ।

पानी रोकिएपछि हिलो पन्छाएर सडक सुचारु गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए । पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम सुरु गरिएको हो । ‘अहिले सडक खुलिसकेको छ,’ उनले भने ।

सडक सुचारु भएपछि जुम्ला, मुगु र कालिकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा र कालिकोटको रास्कोट भेगबाट आएका गाडी गन्तव्यतर्फ लागेका छन् ।



















