काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३४४ शव फेला परेको छ। नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरेको जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमा ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष छन्। त्यसैगरी ५०१ वटा आंशिक मानव अंग फेला परेका छन्।

शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलन गरिरहेको छ। हालसम्म १ हजार २६० मृतकको तथा ९७२ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।

प्रहरीले १ हजार ३० शव व्यवस्थापन गरिसकेको प्रहरीले जनाएको छ। पहिचान नखुलेका १ हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढीपछि ४ हजार ८९८ जना बेपत्ता रहेका छन्। तीमध्ये २ हजार ९३० जना स्वदेशी र ६१८ विदेशी नागरिक रहेका छन्।
प्रहरीका अनुसार बेपत्ता रहनेमा २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन्। यस्तै, १ हजार ३५० जना बेपत्ता रहेको फोनबाट उजुरी दर्ता भएको छ।
हालसम्म ८ हजार ६३१ जनाको उद्धार गरिएको छ। विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीमध्ये ३ हजार ६५५ जनालाई राखिएको प्रहरीले जनाएको छ।


















