धनगढी – धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित बाल्मीकि इन्टरनेसनल स्कुलमा १६ औँ छुकछुके रोबोट कार्यशाला तथा रोबोट फुटबल प्रतियोगिता सुरु भएको छ। बिहीबारदेखि सुरु भएको कार्यशाला भदौ २१ गतेसम्म सञ्चालन हुने छ।
कार्यशालाको निर्देशकका रूपमा सुदूरपश्चिमका CEO तथा GenZ STEAM Trainer शेखर राम साउद रहेका छन । उनले कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक इन्टिग्रेसन, डिजाइनिङ, समस्या समाधान तथा सफ्टवेयर कन्ट्रोललगायतका विषयमा सिकिरहेकाे बताए ।

कार्यशालाको मुख्य उद्देश्य विद्यार्थीलाई वास्तविक मेसिन, उपकरण तथा रोबोट कसरी निर्माण हुन्छन् भन्ने कुरा आधारभूत चरणदेखि निर्माण, परीक्षण र सञ्चालनसम्म व्यवहारिक रूपमा सिकाउनु रहेको उनले बताए।
विद्यालयका प्रधानाध्यापक द्रोणाशिष न्यौपानेले यस्तो प्रयोगात्मक कार्यक्रम विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपसँग जोड्ने महत्वपूर्ण आधार भएको बताए । उनले आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई मेसिन, उपकरण र रोबोट निर्माणको वास्तविक प्रक्रिया आधारभूत तहदेखि नै सिकाउन आवश्यक रहेकाे बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशराज भण्डारीले पनि कार्यशालाले विद्यार्थीमा प्रविधिप्रतिको जिज्ञासा र सिर्जनात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले विद्यालयले विद्यार्थीलाई भविष्यको प्रविधिमैत्री संसारका लागि तयार पार्न hands-on learning तथा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै आएको बताए ।

अध्यक्ष भण्डारीका अनुसार विद्यार्थीले आफ्नै हातले रोबोट निर्माण गर्ने, त्यसमा देखिएका समस्या पहिचान गर्ने र समाधान खोज्ने अवसर पाउनु आफैँमा महत्वपूर्ण सिकाइ बताए । यस्ता कार्यक्रमले विद्यार्थीलाई केवल परीक्षामुखी नभई सिर्जनशील, अनुसन्धानमुखी र नवप्रवर्तनशील बन्न प्रेरित गर्ने उनकाे भनाइ छ।

छुकछुके रोबोटलाई रोबोटिक्स शिक्षालाई सरल, रमाइलो र व्यवहारिक बनाउने माध्यमका रूपमा प्रयोग गरिएको छ। यसले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित अर्थात् STEAM शिक्षालाई प्रत्यक्ष प्रयोगसँग जोडेर सिक्ने अवसर प्रदान गरेको छ।
कार्यशालाको समापन भदौ २१ गते रोबोट प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगितासहित गरिने विद्यालयले जनाएको छ। समापन कार्यक्रममा विद्यार्थीहरूले आफैँ निर्माण गरेका रोबोट प्रदर्शन गर्नुका साथै रोबोट फुटबल प्रतियोगितामा सहभागी हुनेछन्।



















