अत्तरिया – कञ्चनपुरको कृष्णपुरबाट बाढी पीडितका लागि एक ट्रक राहत सङ्कलन गरिएको छ । भदौ १० गते आएको बाढीबाट विस्थापित भएकाहरूका लागि युवाहरूले खाद्यान्न, कपडा सहित एक ट्रक राहत सङ्कलन गरेका हुन ।

जसअन्तर्गत सबैभन्दा धेरै ११.६ टन (२५ केजीको ६४६ कट्ठा) चामल सङ्कलन भएको राहत सङ्कलन समूहका नेतृत्वकर्ता हरेन्द्र बोहराले बताए । उनका अनुसार राहत सङ्कलनका क्रममा ६ कट्ठा नुन, चाउचाउ बिस्कुट १७० पेटी, आलु, १४ बोरा, पानी ५१ पेटी, टर्च ५० पिस, चिउरा भुजा २२ कट्ठा, हल्दी, आधा कट्ठा सङ्कलन भएको छ ।
यस्तै गिलास १३ पिस, थाली ४९ पिस, कचौरा, १ पिस, सोयाविन १ कट्ठा, रातो खुर्सानी १ कट्ठा, मिक्स सामान २१ कट्ठा सङ्कलन भएको छ । यसै गरी चप्पल, जुत्ता ५ कट्ठा, लत्ता,कपडा ११ कट्ठा, सेनेटरी प्याड, डाइपर १ कट्ठा, तेल ५ बक्स, तेल ५ लिटर सहयोग सङ्कलन भएको बोहराले बताए ।

उनले देशको एक कुनामा अप्ठ्यारो पर्दै गर्दा देशको अर्को कुनामा रहेको नागरिकले सहयोग गर्नुपर्छ भन्ने हेतुले राहत सङ्कलन गरिएको बताए । उनले सङ्कलनका लागि कृष्णपुरका सबै वडामा युवा परिचालन भएर ठुलो मात्रामा राहत सङ्कलन गर्न सफल भएको बताए । ‘तीन दिनको अवधिमा गरिएको राहत सङ्कलनका क्रममा यस क्षेत्रका व्यवसायी सामाजसेवी, यस क्षेत्रका भलमन्सा समेतको सहयोगमा राहत सङ्कलन गरेका थियौ’ उनले भने ‘टोल टोलमा सङ्कलन भएको राहत मैले आफ्नै गाडीबाट ढुवानी गरेर गुलरिया बजारमा जम्मा गरेका हौ ।’

उनले सङ्कलन गरिएको सामान रसुवाको सबैभन्दा कठिन क्षेत्रमा आफै गएर पुगाउने लक्ष्य रहेको बताए । उनले कृष्णपुरबाट अपेक्षा गरिएको भन्दा बढी सामान सङ्कलन भएपछि १ लाख ३० हजार भाडामा ट्रक भाडामा लिएर पठाइन लागिएको बताए ।

गाडी भाडाका लागि विमल अधिकारीले ५० हजार बराबरको तेल, नमुना सामुदायिक वनका अध्यक्ष चेत बहादुर रावतले १० हजार, ग्वासी सामुदायिक वनका अध्यक्ष ईश्वरी भट्टले १० हजार, अमर चौधरीले ७ हजार, अमर महराले १० हजार, जेएमडी होटलका सञ्चालकले ५ हजार सहयोग गरेको बताए । उनले गाडी भाडाका लागि कम परेको रकम अभियानमा जोडिएका युवाहरूले तिर्ने बताए । उनले राहत सामग्री प्याकिङका लागि २ सय कट्ठा राम चन्द्र भट्ट, १ सय कट्ठा राकेश चौधरी र १ सय कट्ठा नरेश भण्डारीले सहयोग गरेको बताए ।
उनले राहत सङ्कलन गरिएको सामानमा कुनै हिनामिना भएको गुनासो नआओस् भनेर सबै कुरा पारदर्शी हिसाबले गरिएको बताए ।
उनीहरूले सङ्कलन भएको राहत शनिबाट काठमाण्डौं लगेका छन् । उक्त सामान सँगै कञ्चनपुरको महेन्द्रनगरमा रहेको मिनी मार्केटबाट सङ्कलन भएको ८ कट्ठा लुगा पनि पठाइएको थियो ।
युवाहरूले उक्त समान काठमाण्डौंबाट प्रभावित क्षेत्रमा लगेर आफै बाढीपीडितलाई सहयोग गर्ने र बाँकी रहेको सामान सरकारलाई बुझाउने बताएका छन् ।


















