अत्तरिया – नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले बाजुरा, बझाङ र दार्चुलाका स्याउ कृषकले भोग्दै आएका ढुवानी, चिस्यान तथा बजारीकरणको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
चेम्बरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सडक सञ्जालको जीर्ण अवस्था, नियमित ढुवानी साधनको अभाव तथा चिस्यान र सुरक्षित भण्डारणको कमीका कारण कृषकले उत्पादनको उचित मूल्य पाउन नसकेको जनाएको छ।

चेम्बरले बाजुरा, बझाङ र दार्चुलाबाट प्रमुख बजारसम्म स्याउ ढुवानीका लागि विशेष व्यवस्था, आवश्यक सहुलियत तथा समन्वय गर्न प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

त्यस्तै, उत्पादित स्याउ संरक्षणका लागि चिस्यान केन्द्र, संकलन केन्द्र तथा सुरक्षित भण्डारण सुविधाको प्रभावकारी उपयोग र आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ।
सुदूरपश्चिममा उत्पादित रैथाने तथा अर्गानिक स्याउलाई सरकारी निकाय, होटल, सहकारी, विद्यालय तथा स्थानीय बजारमा प्राथमिकता दिने नीति ल्याउन पनि चेम्बरले आग्रह गरेको छ।
चेम्बरका अध्यक्ष तारा जोशी, कैलाली जिल्ला चेम्बरका अध्यक्ष प्रमोद अधिकारी र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका महासचिव रविन भट्टले हस्ताक्षर गरेको विज्ञप्तिमा स्थानीय स्याउलाई प्राथमिकता दिई कृषकको मेहनतको सम्मान गर्न आम उपभोक्ता, व्यापारी, उद्योगी तथा नागरिक समाजसँग अपिलसमेत गरिएको छ।

















