धनगढी – नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि कैलालीमा तयारी तीव्र पारिएको छ।
आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलामा कैलालीबाट बढीभन्दा बढी नेता, कार्यकर्ता तथा जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्तरमा तयारी अघि बढाइएको हो।


यसैक्रममा शुक्रबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलमा देउवा पक्षका केन्द्रीय प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख देवराज जोशीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ र ५ का अगुवा नेता, कार्यकर्ता तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै जोशीले राष्ट्रिय भेला पार्टीलाई थप सुदृढ, एकताबद्ध र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनले कैलालीबाट उल्लेख्य सहभागिता गराउन जिल्लाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिने जानकारी दिए।
जोशीले पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई राष्ट्रिय भेलामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै भेलालाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।
काठमाडौंमा हुने राष्ट्रिय भेलालाई नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ।



















