खाेज्नुहाेस

सुदूरपश्चिममा कांग्रेस एमालेको सहकार्य टुट्यो

Image

धनगढी – लामो समय देखिको रस्साकस्सी पछि अन्ततः सुदूरपश्चिममा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सहकार्य टुटेको छ । बजेट ल्याएदेखि चुलिएको सत्ता सहकार्य गरिरहेका दुई दल बिचको सम्बन्ध बजेट पारीत नहुँदै टुटेको हो । बुधबार मुख्यमन्त्री कमल बहादुर शाहले एमालेबाट सरकारमा सहभागी मन्त्री बर्खास्त गरेका छन भने एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्रीले एमालेबाट सरकारमा सहभागि भएका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउदलाई बर्खात गरेका थिए ।

attariya hospital

मुख्यमन्त्रीले आफ्ना पार्टीका मन्त्री बर्खास्त गरेपछि एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलको बैठकले बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । उनका अनुसार बजेट पुनर्लेखनको माग गर्दै आएको अवस्थामा एमालेका मन्त्रीहरूलाई पदबाट हटाइएपछि सरकारमा बसिरहनुको औचित्य नरहेको निष्कर्षसहित समर्थन फिर्ता लिइएको हो ।

आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेट प्रस्तुत भएयता एमालेले बजेटप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएको थियो । सरकारमै सहभागी रहँदा पनि एमालेका प्रदेशसभा सदस्यहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए, जसका कारण सत्ता गठबन्धनभित्रको विवाद थप गहिरिएको थियो ।

navjiwan hospital

विवाद समाधानका लागि मुख्यमन्त्री शाहले कांग्रेस केन्द्रीय नेतृत्वसँग समेत छलफल गरेका थिए । केन्द्रबाट एमालेसँग सहमतिका लागि संवादलाई निरन्तरता दिन सुझाव आए पनि सहमति जुट्न नसकेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ राजनीतिक समीकरणको प्रयास अघि बढाएका हुन् । एमाले कांग्रेस बिचको सहकार्य टुटेपछि सुदूरपश्चिम प्रदेश सरकार नयाँ सत्ता समीकरणअनुसार पुनर्गठन हुने भएको छ । सरकार पुनर्गठनबारे मुख्यमन्त्री कार्यालयले छलफल अघि बढाएको जनाएको छ ।

नेकपाले राख्यो सर्त

नयाँ समीकरणको पहल सुरु भएसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री पद र बजेट पुनर्लेखनको सर्तमा नयाँ गठबन्धन बन्नसक्ने प्रतिक्रिया दिएको दिएको छ । यद्यपि यसबारे विस्तृतमा दलहरुसँग छलफल हुनै बाँकी रहेको नेताहरुको भनाइ छ । नेकपा सुदूरपश्चिम प्रदेशका सासंद अक्कल रावलले नयाँ गठबन्धनमा जान सकिने बताए । आफूहरुको सर्त कांग्रेस र एमाले जसले मान्छ उहीसँग सहकार्य हुन सक्ने उनले संकेत गरे ।

तर कांग्रेस वा एमालेलाई कसैलाई पनि अहिलेकै अवस्थामा भने समर्थन गर्न नसकिने उनले स्पष्ट पारे । ‘बजेट पुनर्लेखन गर्ने र मुख्यमन्त्री पद नेकपालाई दिने विषयमा सहमति भए हामी सरकारमा जान तयार छौं, प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीमा हाम्रो स्वाभाविक दाबी पनि हो,’ उनले भने ।

उनले अहिले सरकारमा जानु सत्ता प्राप्तिको उद्देश्य नभएको स्पष्ट पार्दै प्रदेशको राजनीतिक स्थायित्व र जनमुखी बजेटका लागि आवश्यक परे सहकार्य गर्न तयार रहेको बताए रावलका अनुसार हालको अवस्थामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट समयमै पारित हुने सम्भावना कमजोर देखिएको छ ।

यसैबिच नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता गठबन्धन सातै प्रदेशमा तोड्ने तयारी गरेको छ । कर्णाली र सुदूरपश्चिममा देखिएको मदभेदलाई लिएर कांग्रेसले एमालेसँगको सातै प्रदेशको सत्ता गठबन्धन तोड्ने तयारी गरेको हो । कांग्रेसका एक शिर्ष नेताकाअनुसार औपचारिकरुपमा निर्णय नभए पनि पदाधिकारी तहमा एमालेसँग सत्ता गठबन्धन तोड्ने छलफल भइसकेको छ ।