अत्तरिया – कैलालीका धनगढी र टिकापुरबाट प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–८ मा शंकास्पद व्यक्तिको चेकजाँच गर्ने क्रममा ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय हरिलाल राना, २२ वर्षीय उमेश राना र २० वर्षीय हेमराज राना रहेका छन्।

त्यसैगरी, इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका–९ खक्रौलामा चेकजाँचका क्रममा टिकापुर–६ निवासी २० वर्षीय अमित परियारलाई ४१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















