धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता साझेदार दल नेकपा एमालेले खर्च कटौतीको प्रस्ताव पेस गरेको छ । असार १ गते ल्याएको बजेटमा सुरुदेखि असन्तुष्टि जनाइरहेको एमालेका तीन सांसदले खर्च कटौती प्रस्ताव दर्ता गराएका हुन ।

जसअन्तर्गत नेकपा एमालेकी उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारीले तीन मन्त्रालयको खर्च कटौतीका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालयको, थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको र भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च कटौती प्रस्ताव दर्ता गराएका हुन्।

एमालेका दुई सांसदले आफ्नै पार्टीका मन्त्री रहेका मन्त्रालयको खर्च कटौतीको प्रस्तावमा बजेटको शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँमा कायम गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । जसलाई उनीहरूले व्यङ्ग्यात्मक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरेको रूपमा लिइएको छ ।
असार १ गते सरकारले ल्याएको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटमा एमालेले तीव्र विरोध गरिरहेको छ। यसअघि बसेको एमाले संसदीय दलको बैठकले बजेट संशोधन हुनुपर्ने भन्दै प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा संशोधन कार्यदल समेत गठन गरेको थियो।
कार्यदलमा सांसद जानकी ऐर बम र सामाजिक विकास समितिका सभापति धर्मराज पाठक सदस्य थिए। उनीहरूको सुझावलाई समेत आधार मानेर एमालेका ६ सांसदले ६ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय भएको थियो। शुक्रवार तीन सांसदले खर्च कटौती प्रस्ताव दर्ता गराएका छन् भने अन्य सांसदले पनि पछि दर्ता गर्ने तयारी गरिरहेको बताइएको छ।















