अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ । बिहीबार भएको सामान्य छलफलमा सत्तापक्षका सांसदहरूबाटै तीव्र असन्तुष्टि र विरोध भएको छ । सत्तापक्षकै सांसदबाट बजेटको चर्को आलोचना भएपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
छलफलका क्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वआर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बजेटमा थुप्रै कमजोरी र त्रुटि रहेको बताए । उनले सरकारले गरेका कमीकमजोरीमा सत्तापक्षको रफु गर्नुपर्ने बाध्यता रहेको बताउँदै सबै त्रुटि भने रफु गर्न नसकिने बताए ।

उनले सरकारले २५ लाख भन्दा तलका योजना नल्याउने बताए पनि आधा भन्दा बढी २५ लाख मुनिका योजना ल्याइएको बताए । उनले यो गम्भीर कमजोरी भएको बताए । उनले आर्थिक मन्त्रालयबाट योजना छनोटको मापदण्ड बनाए पनि त्यो पनि कार्यान्वयन नभएको बताए ।

‘यस्ता योजना कसरी सम्पन्न हुने हुन’ उनले भने ‘सबैले मेरा योजना परेका छन् भनेर देखाउनका लागि मात्रै ल्याइएका हुन । कतिपय योजना सम्पन्न नहुने पनि राखिएका छन् ।’ उनले गौरीगंगा १० र ११ जोड्ने झोलुङ्गे पुल भनेर विगत ४ वर्ष देखि बजेट छुट्टाइने गरेको बताउँदै उनले त्यहाँ खेत मात्रै भएको बताए । उनले त्यो ठाउँमा खोला, कुलो पनि नभएको बताए । उनले यस्ता धेरै योजनामा त्रुटि भएको बताउँदै बजेट बनाउँदा धेरै कुरा सोचेर बनाउनु पर्ने बताए । उनले बजेटमा धेरै टाला हाल्दा हाल्दै बजेट अर्कै बनेको बताए ।
सत्ता साझेदार नेकपा एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेटले प्रदेशको अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाव पार्न नसक्ने र यो नीति तथा कार्यक्रमसँग मेल नखाएको दाबी गरे । ‘मुख्यमन्त्रीले नीति तथा कार्यक्रममा जसरी सुखी नेपाली समृद्धिको गन्तव्य देखाइएको थियो’ उनले भने ‘यो बजेट धेरै बिग्रेर आएकाले यसमा सत्तापक्षको भएकाले रफु भर्न सकिँदैन ।’ बजेट सङ्घीयताको मर्म अनुसार नभएको, बजेट सन्तुलित नभएको, योजना छनोट मापदण्ड तथा बजेट निर्माण आचारसहितको उल्लङ्घन गरिएको, मनपरी ढङ्गले निर्माण भएको बताए । मल्लले मन्त्रालयमा बन्नुपर्ने बजेट अन्यत्रै बनाइएको आरोप लगाउँदै यसमा व्यापक संशोधनको माग गरे । उनले समग्रमा बजेटले आफ्ना मूल्य र मान्यता नाघेर आएको बताए ।
‘बजेट निर्माणमा नकारात्मक शक्तिको प्रभाव रह्यो’ उनले भने ‘बजेटमा झोले झिम्टे र चिम्टे, बिचौलिया विद्याको प्रभाव बजेटमा रह्यो । बजेट मनकारी र धनकारी विधामा बजेट आयो ।’ उनले अझै पनि समय भएकाले सरकार सच्चिनुपर्ने बताए । बजेट उल्टो दिसामा फर्किएको बताउँदै अझै पनि यसलाई सुल्टो दिसातिर फर्काउनु पर्ने बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले पनि बजेटको विरोध गरेका छन् । सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेटमा केही त्रुटि भएको स्वीकार गरे । उनले त्रुटि भएका र दोहोरिएका शीर्षकका बजेट कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाउँदै संशोधनसहित बजेट पारित गर्न आग्रह गरे । उनले बजेट निर्माणमा कुनै खरिद बिक्री नभएको दाबी गर्दै यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । उनले सत्ता पक्षले अझै पनि बसेर बजेटमा भएका त्रुटि सच्याउन सकिने बताए ।
बजेटमाथि सत्तापक्षकै सांसदहरूको विरोध र अन्यौलता कारण सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । यसले मन्त्रालयगत छलफल र बजेट पारित गर्ने प्रक्रिया अनिश्चित बनेको छ ।


















