खाेज्नुहाेस

कैलालीमा सार्वजनिक यातायातका चालक–परिचालकलाई जर्सी वितरण

Image

धनगढी – कैलालीमा सञ्चालन हुने सार्वजनिक यातायातका चालक, सहचालक तथा परिचालकलाई पहिचानसहितको जर्सी वितरण गरिएको छ । बिहिबार संयुक्त यातायात व्यवस्थापनको आयोजनामा एक कार्यक्रमका बिच जिल्लाभरका यातायात व्यवसायीहरूलाई जर्सी वितरण गरिएको हो ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की रहेका थिए ।

attariya hospital

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेयले स्वागत मन्तव्य राख्दै यात्रु सेवाको गुणस्तर सुधार, यातायात व्यवसायलाई थप व्यवस्थित बनाउने तथा सार्वजनिक यातायातप्रति जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले पहिचान जर्सी वितरण गरिएको बताए ।

खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले चालक, सहचालक र परिचालकको स्पष्ट पहिचानले यात्रु र व्यवसायीबीचको विश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै यातायात क्षेत्रलाई अनुशासित र जिम्मेवार बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

navjiwan hospital

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश संयोजक टेकराज जोशीले सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र सेवामुखी बनाउन व्यवसायीहरू स्वयं जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै पहिचान पोशाकले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रमुख अतिथि प्रहरी उपरीक्षक नवराज कार्कीले पहिचान पोशाक नहुँदा चालक, सहचालक र परिचालकलाई छुट्याउन कठिनाइ हुने गरेको उल्लेख गर्दै अब जर्सीका माध्यमबाट उनीहरूको पहिचान स्पष्ट हुने बताए ।

यसले यात्रुले आफूलाई सेवा दिने कर्मचारीलाई सहजै चिन्न सक्ने, आवश्यक पर्दा गुनासो वा सुझाव दिन सक्ने तथा सार्वजनिक यातायात सेवा अझ व्यवस्थित बन्ने विश्वास व्यक्त गरे । साथै, पहिचान जर्सीले पेशाको मर्यादा बढाउनुका साथै यात्रुको सुरक्षा र विश्वाससमेत सुदृढ बनाउने उनको भनाइ थियो ।

कार्यक्रमका सभापति पदमराज सापकोटाले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने अभियानअन्तर्गत पहिचान जर्सी वितरण गरिएको बताए । उनले चालक, सहचालक र परिचालकको स्पष्ट पहिचानले दलाली, ठगी तथा अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गर्दै यसबाट यात्रु र व्यवसायी दुवै प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।

आगामी दिनमा यातायात क्षेत्रलाई अझ अनुशासित, प्रविधिमैत्री र सेवामुखी बनाउने अभियानलाई निरन्तर अघि बढाइने उनले बताए । जर्सी वितरण कार्यक्रमको सञ्चालन सुन्दर सुदूरपश्चिम यातायात प्रालिका महासचिव सुरेन्द्र बोहराले गरेका थिए ।