अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले तयार पारेको मानवीय कार्य र विपद् जोखिम न्यूनीकरणका लागि लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (जेड्सी) प्रोफाईलको तथ्यांकमाथी छलफल गरिएको छ । बुधबार गोदावरी सरोकारवाला निकाय एवम् प्रतिनिधिहरुबिच जेड्सी प्रोफाईलको तथ्यांकमाथी छलफल भएको हो ।
युएनवुमनको आर्थिक सहयोग र गोदावरी नगरपालिकासँगको सहकार्यमा ग्रामिणमुखी युवा अभियान नेपाल (रोयम) ले नगरपालिकाका लागि जेड्सी प्रोफाईल तयार गरेको थियो । विगत १ वर्षदेखी सो प्रोफाईल निर्माण गरिरहेको रोयम नेपालले बुधबार प्रोफाईलको तथ्यांकका विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, विभिन्न वडाका वडाध्यक्षहरु, विपद्का क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले नगरपालिकालाई विभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आईरहेको बताईन । उनले जेड्सी प्रोफाईलको तथ्यांकका विषयमा भएको छलफल एकदमै राम्रो भएको बताईन । उनले स्थानिय सरकार स्थानियको सबैभन्दा नजिकको सरकार भएकाले विपद्को समयमा स्थानिय सरकार नै पहिलो अभिभावकका रुपमा उभिनुपर्ने बताईन । उनले त्यसका लागि विभिन्न क्षेत्रबाट विपद्का समयमा सहयोग सहकार्य हुदै आएको बताईन । उनले छलफलमा आएका सल्लाहसुझावहरुलाई आत्मसाथ गर्दै प्रोफाईलको मुर्त रुपमा तयार भैसकेपछि कार्यपालिका बैठकमा पेश गरिने समेत बताईन ।
कार्यक्रममा बोल्दै रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले गोदावरीमा रोयम नेपालले लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण उत्तरदायीका लागि नितिगत सवालमा काम गर्दै आएको बताए । उनले नगरपालिकासँगको सहकार्यमा तयार पारिएको सो प्रोफाईलको तथ्यांकमा विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार प्रोफाईलमा विपद्ले सबैभन्दा बढी प्रभाव पार्ने वर्ग र उनिहरुलाई गरिनु पर्ने सहयोगको आधारका विषयमा उल्लेख गरिएको छ । ‘विपद्को बेलामा सबैभन्दा बढी अपांगता क्षेत्र, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, महिला लगायतका समुह प्रभावित हुन्छन र फरक फरक समुहलाई विपद्ले पार्ने असर पनि फरक फरक हुन्छ’ उनले भने ‘जेड्सी प्रोफाईलमा ती फरक फरक समुहलाई सहयोग गर्ने पाटो पनि फरक फरक हुनुपर्ने विषय राखिएको छ ।’
उनले विपद्मा परेको वर्गलाई सहयोग गर्दा फरक फरक पाटोलाई मध्यनजर गरेर गर्ने नितिगत व्यवस्था हुनुपर्छ भन्ने विषय प्रोफाईलमा समावेश गरिएको बताए । उनका अनुसार कार्यक्रममा सहभागीहरुले प्रोफाईलका विषयमा नियमित रुपमा डाटालाई अपडेट गर्नुपर्ने, विपद्मा परेका समुदायलाई राहत उद्धार मात्रै नभई दिगो जिविकोपार्जनमा सहयोग पुग्ने गरी काम गर्नुपर्छ भन्ने सल्लाह सुझाव आएको बताए । उनले सहभागीहरुको सल्लाह सुझावलाई समेटेर जेड्सी प्रोफाईललाई अन्तिम रुप दिईने बताए ।

















