धनगढी – सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यका साथ सुन्दर सुदूरपश्चिम यातायात प्रालिले गाडी नम्बरसहित चालक, परिचालक र सहचालकको परिचयपत्र (आइडी कार्ड) जारी गरेको छ ।
प्रालिले लागू गरेको नयाँ व्यवस्थाअनुसार अब प्रत्येक बसमा कार्यरत चालक, परिचालक र सहचालकले आफू कार्यरत गाडी नम्बर उल्लेख भएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नेछन् । यसबाट बसपार्कमा आउने यात्रुले आफू चढ्ने गाडी तथा सम्बन्धित कर्मचारीको सहजै पहिचान गर्न सक्नेछन् ।


प्रालिका अध्यक्ष पदमराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताए । उनका अनुसार परिचयपत्रको प्रयोगले यात्रुलाई सही गाडी पहिचान गर्न सजिलो हुने, अनावश्यक अन्योल हट्ने तथा बसपार्कमा सक्रिय दलालहरूको चलखेल नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
यस्तै, प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बसपार्कमा टिकट लिन आउने यात्रुलाई पनि यस व्यवस्थाले प्रत्यक्ष रूपमा सहजता प्रदान गर्नेछ । ‘यात्रुले आधिकारिक कर्मचारीलाई सजिलै चिन्ने भएकाले टिकट खरिददेखि गाडीमा सवार हुने प्रक्रियासम्म थप व्यवस्थित र सुरक्षित हुनेछ’ उनले बताए ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिले यात्रुमैत्री सेवा विस्तारसँगै पारदर्शी र भरपर्दो सार्वजनिक यातायात प्रणाली निर्माणका लागि यस्ता सुधारात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।


















