धनगढी – धनगढीको सामुदायिक वनमा मृत फेला परेका १० वर्षीया बालक तनुज चौधरीको कानमा लगाएको सुन हत्या अरोपमा पक्राउ परेका खेमराज कठायतको घरमा फेला परेको छ । असार १२ गते धनगढी–१७ को कालिका सामुदायिक वनमा मृत फेला परेका तनुजले सुनको मुन्द्रा सोमवार पक्राउ परेका अभियुक्त खेमराज कठायतबाट बरामद भएको हो ।

प्रहरीका अनुसार तनुजको हत्यामा संलग्न भनिएका गौरीगङ्गा नगरपालिका–६ का २५ वर्षीय कठायत लागुऔषध दुव्र्यसनी रहेको र पैसाका लागि उनैले बालकको हत्या गरी कानमा लगाएको एक आना बराबरको सुनको मुन्द्रा लुटेका हुन् ।

खेमराजले प्रारम्भिक बयानमा आफूले सुनको मुन्द्रा लुटेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार तनुजको हत्यापछि खेमराजले सुनको मुन्द्री निकालेर पेन्टको खल्तीमा लुकाएका थिए । मंगलबार कठायतकै घरबाट उक्त सुनको मुन्द्रा बरामद भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
तनुज असार १० गते घरबाट बेपत्ता भएका थिए । खोजतलासकै क्रममा घर नजिकैको सामुदायिक वनमा उनको शव फेला परेको थियो । खेमराजलाई कैलाली प्रहरीले सोमवार साँझ धनगढी–२ भन्सार रोड क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उनी भारत प्रवेश गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।



















