बैतडी – बैतडीको पाटन नगरपालिका–५ स्थित ओदाली शहरी स्वास्थ्य क्लिनिकका प्रमुख हेमन्त भण्डारीको निधन भएको छ । पाटन नगरपालिका–६ घर भएका भण्डारीको सोमबार बिहान घरमै निधन भएको हो । कैलालीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेपछि बेहोस भएका भण्डारीको सोमबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
गत सोमबार अत्तरिया हस्पिटलले गरेको मुटुको पहिलो शल्यक्रियामा समान्य अवस्थामा रहेका उनी केही घण्टामै बेहोस भएका थिए । अस्पतालकै आईसीयूमा बेहोस भएका भण्डारीलाई अचेत अवस्थामा भारतको रुद्रपुर लगिएको थियो । मेडिसिटी हस्पिटलले अचेत अवस्थामा स्थिर रहेको भण्डारीको बाच्ने सम्भावना नभएको भन्दै डिस्चार्ज गरेर घर फर्काएको थियो । उनलाई अचेत अवस्थामै आइतबार मात्र पाटनस्थित घरमा पुर्याइएको थियो ।


भण्डारीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
भण्डारी स्वास्थ्य क्षेत्रमा मात्रै नभएर खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका थिए । क्रिकेटका अम्पायर समेत रहेका भण्डारीको निधनले खेल क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
यसैबीच पाटन नगरपालिकाले भण्डारीको निधनमा मंगलबार शोक बिदा दिएको छ । नगरपालिकाको ओदाली शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत भण्डारीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
भण्डारीको निधनको शोकमा एक दिन नगरपालिका मातहतका सबै वडा कार्यालय,स्वास्थ्य संस्था र शिक्षण संस्थामा शोक बिदा दिइएको जनाइएको छ । नगर प्रमुखस्तरीय निर्णय गर्दै नगरपालिकाले शोक बिदा दिएको हो ।



















