धनगढी – भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर चेकजाँच गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, के–९ शाखाबाट लागू औषध र विस्फोटक पदार्थ सम्बन्धी तालिमप्राप्त प्रहरी कुकुरको प्रयोग गरी चेकजाँच गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले नियमित चेकजाँच गर्ने क्रममा सोमबार त्रिनगर नाकामा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनहरूको चेकजाँच गरिएको जनाएको छ । बिस्फोटक पदार्थ, अवैध सामान तथा अन्य शङ्कास्पद वस्तु पहिचान गर्न तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएकाले यात्रुले आवश्यक परिचयपत्र बोकी सुरक्षा जाँचमा सहयोग गर्न आग्रह गरिएको छ । सुरक्षा जाँचलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायबिच समन्वय गरी निगरानीसमेत बढाइएको छ ।
प्रहरीले प्रदेशका विभिन्न नाका, बसपार्क तथा अन्य संवेदनशील स्थानहरूमा समेत दैनिक रूपमा नियमित सुरक्षा चेकजाँच कार्य निरन्तर सञ्चालन हुँदै आइरहेको समेत जनाएको छ ।



















