धनगढी – धनगढीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ ।

आइतवार राति कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि माया मेट्रो अस्पताल पु¥याइए पनि उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन् । दुर्घटनापछि ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी र चालक घटनास्थलबाट फरार भएका छन् । फरार गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


















