धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले असार १ गते मध्यरातमा प्रस्तुत गरेको बजेट तीन साता बितिसक्दा पनि प्रदेशसभामा टेबुल हुन सकेको छैन । बजेटमा प्रतिपक्षको मात्र नभई सत्तारुढ दल नेकपा एमालेले कडा आपत्ति जनाउदै बजेट संशोधन हुनुपर्ने धारणा राखेको छ । सत्तागठबन्धन दलले संशोधन नगरि बजेट पारित हुन नदिने अडान राख्दा बजेट विवाद पेचिलो बनेको हो । विवादका कारण तीन सातासम्म पनि बजेट टेबुल नै हुन नसकेको हो ।

प्रदेशसभामा बजेट टेबुल भईनसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । बिगतका बर्षमा समान्यतया बजेट प्रस्तुत भएकै दिन केही समयपछि अर्को बैठक बसेर बजेट टेबुल हुने गरिन्थ्यो । ‘यस बर्ष राती बजेट प्रस्तुत भएकाले त्यसै दिन बजेट टेबुल भएन’ उनले भने, ‘दोस्रो दिन हुनुपर्ने थियो,अहिले सम्म भएको छैन ।’ बजेट सँग सम्बन्धित अन्य विधेयकहरू पनि हालसम्म प्रदेशसभामा टेबुल भएका छैनन् । असार २३ गते बजेट टेबुल गरिने उनको भनाई छ ।

असार १ को मध्यरात १२ बजेपछि स्थगित भएको बैठक बजेट विवादले तीन साता सम्म वस्न सकेको छैन । असार २३ गते बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको जैशीले बताए । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान बजेट बैठकमा टेबुल गरिने कार्यसूची रहेको उनले बताए ।
असार १ गते बजेट प्रस्तुत गरिनुपर्ने संवैधानिक प्रावधान रहेकाले विवादकै बिच बजेट मध्यरातमा प्रस्तुत गरिएको थियो । विपक्षी दल नेकपा र राप्रापाका प्रदेशसभाले बजेट मध्यरातमा प्रस्तुत भएको बिरोध गर्दै प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । चालु र पुँजीगत बजेट तथा मन्त्रालयहरुको बजेट उल्लेख नगरि मध्यरातमा बजेट प्रस्तुत गरिएको थियो ।

















