अत्तरिया – अत्तरियाको सबैभन्दा पुरानो सृजनशील रोड (सडक) एक सातादेखि बन्द रहेको छ । गोदावरी नगरपालिका – १ स्थित अत्तरियाको महेन्द्रनगर रोड स्थिति वरपीपल गल्लीलाई धनगढी रोड सँग जोड्ने पुरानो रिङ रोड स्थानीयले एक साता देखि बन्द गरेका हुन । करिब साढे २ दशक अघि नै निर्माण भएको उक्त सडक विगत ३/४ वर्ष देखि जीर्ण बनेको भए पनि मर्मत नगरिएको भन्दै स्थानीय आन्दोलित भएर सडकमा सडक बन्द गरेका छन ।
स्थानीय लक्ष्मी देवकोटाले २७/२८ वर्ष पहिले बनेको सडक अहिले सम्म मर्मत नभएर हिलाम्मे धुलाम्मे भएपछि आफूहरूले सडक बन्द गरेको बताइन् । उनले सडक मर्मत गरिदिनका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताइन् ।

‘हामीले पटक पटक नगरप्रमुख, वडामा भन्यौ । सुनुवाइ भएन’ उनले भनिन् ‘अहिले ल्याएको बजेटमा पनि यो परेन भन्ने सुन्यौ ।’ उनले बाटो बन्द गरेर विरोध गर्दा सम्म पनि नगरपालिकाबाट कोही नआएको बताइन् । उनले वडाध्यक्ष आएर २/३ गाडी सापटीमा ग्राभेल हाल्ने कुरा गरेर गएको बताइन् । असोजमै हुन्छ भनेर असार सम्म काम नभएपछि आफूहरू बाध्य भएर बाटो बन्द गरेको उनले बताइन । ‘हामीले धेरै वर्ष देखि माग गरेका छौ । अहिले तत्काल कालोपत्रे गर्न नसकिएला तर, पानी पिच सम्म भए पनि गरिदिनुपर्छ’ उनले भनिन् ‘त्यति नहुँदा सम्म हामी बाटो खोल्ने छैनौ ।’


स्थानीय वीरेन्द्र कुमार चौधरीले सडक मर्मत गर्नुको साटो कहिले बिजुली, कहिले पानीको पाइप हालेर भनेर झन् खन्ने काम मात्रै भएको बताए । उनले २ घर भएको ठाउँमा पनि बाटो पिच हुँदा बजारको मुख्य सडकको बेवास्ता गरिएको बताए । ‘यो बाटोमा गोदामहरू छन् । जसका लागि ठुला ठुला ट्रक चल्ने गरेका छन्’ उनले भने ‘बाटो जर्जर अवस्थामा पुगिसक्दा पनि मर्मत भने भएको छैन ।’ उनले अहिले बाटो बर्सातमा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुन थालेपछि स्थानीय गाउँलेको सहमतिमा विरोध स्वरूप बन्द गरिएको बताए । अत्तरियाको मुटुमा रहेको मुख्य सडकको अवस्था यस्तो हुँदा पनि बेवास्ता गरिनु चिन्ताजनक कुरा भएको उनले बताए ।
गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्टले भने प्रदेश सरकारले उक्त बाटोमा बजेट हालेको बताए । ‘प्रदेशको बजेटबाट ठेक्का लगाएर १६२ मिटर सडकमा ठेकेदारले बेस हालेर पानी पिच गरेको छ’ उनले भने ‘त्यसपछिको सडक आगामी दिनको बजेटमा होला अहिले त्यति मात्रै हो काम । स्थानीले पुरै अहिले नै कालोपत्रे हुनुपर्छ भन्दै छन ।’
करिब ७ सय मिटरको रिङ रोडमा आधा जति सडक हाल जीर्ण अवस्थामा रहेको छ । प्रदेशले १६२ मिटरका लागि मात्रै बजेट विनियोजन गरेर काम गरिरहेको छ । वडाध्यक्ष भट्टले बाँकी धेरै समस्या भएको ठाउँमा नगरपालिकाबाट ग्राभेल हालिएको बताउँदै तत्काल कालोपत्रे गर्ने काम भने सम्भव नभएको बताए ।

उनले सडक निर्माणका लागि स्थानीय मात्रै नभएर आफूले पनि माग उठाउँदै आएको बताउँदै प्रदेशमा सडक कालोपत्रेका लागि स्टमेट बनाएर पठाएको बताए ।
उनले नयाँ आर्थिक वर्षका लागि बाँकी सडक कालोपत्रे गर्नका लागि बजेट प्रदेशले विनियोजन गरेको बताउँदै बजेट पास भने नभएकाले अहिले स्पष्ट भन्न नसकिने बताए । उनले आफूहरूले ३० लाख माग गरे पनि १५ लाख विनियोजन गरिएको बताए । उनले काम भइरहेको १६२ मिटरका लागि भने प्रदेशले २५ लाख विनियोजन गरेको थियो । प्रदेशले टुक्रा टुक्रामा बजेट हालेर त्यो पनि समयमा सम्पन्न नगर्दा समस्या झन बढेको छ ।


















