धनगढी – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान नवनिर्मित मन्दिरमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच क्षमा पूजाअर्चना गरेका हुन् ।

यसका साथसाथै, केबलकारको टप स्टेसन र बटम स्टेसनमा निर्माणहुने भौतिक संरचनाहरु पनि द्रूत गतिमा निर्माण भइरहेको कम्पनीले जनाएको छ । आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन सो केबलकार परियोजनालाई आगामी दुई महिनाभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेकाले निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी गरेको छ ।

विभिन्न चरणमा गरी कुल लगानी करिब ६ अर्ब रुपैयाँ अनुमान गरिएको यस परियोजनाको पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ । यसलगत्तै मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोलाहरू जडान गर्ने कार्य अघि बढ्नेछ ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी देखि मोहन्याल गाउँपालिका–७ राजकाँडा सम्म ३.१ किलोमिटर लामो केबलकार परियोजनाको तल्लो (बटम) स्टेसनमा पाँचतारे होटल, क्यासिनो र ब्यांक्वेट हललगायत अन्य संरचनाहरु निर्माण भइरहेका छन् भने माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल (पदमार्ग), रेष्टुरेन्ट तथा बाल उद्यानलगायतका पर्यटकीय पूर्वाधार विकास भइरहेका छन् ।



















