अत्तरिया – लामो समय देखि चुनौतीको रूपमा रहेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि गोदावरी नगरपालिकाले बन्ध्याकरण गर्ने नयाँ कार्यक्रम ल्याएको छ । छाडा चौपाया व्यवस्थापनका लागि गौशाला बनाउने, हेराला राख्दा पनि व्यवस्थापन हुन नसकेपछि नगरपालिकाले आगामी आर्थिक वर्ष छाडा भाले पशुको बन्ध्याकरण गर्ने योजना अघि सारेको हो । नगरपालिकाले सामुदायिक छाडा पशु व्यवस्थापनमा सहयोग पु¥याउन सामुदायिक भाले पशुहरुलाई बन्ध्याकरण गर्ने जनाएको छ ।
जसका लागि नगरपालिकाले सडक र गौशालामा राखिएका भाले पशुको बन्ध्याकरण गर्ने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक टेक बहादुर शाहुले बताए । उनले नगरपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा नै भाले पशुको बन्ध्याकरण गर्ने योजना अघि सारेको बताए ।



‘पशु सेवा शाखा मार्फत किसानले ल्याएका पशुहरूको बन्ध्याकरण हुँदै आएको थियो । अब भने सडकमा छाडिएका, गौशालामा राखिएका भाले पशुको पनि बन्ध्याकरण गर्ने छौ ।’ उनले पशु सेवा शाखा मार्फत निजी किसानका पशुको बन्ध्याकरण काम हुँदै आएकाले सोही जनशक्तिले सार्वजनिक भाले पशुको बन्ध्याकरण गर्ने बताए ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रममा सामुदायिक पशुहरूको बन्ध्याकरण गर्ने नीति ल्याएपछि त्यसका लागि बजेट भने छुट्टाएको छैन । पशु सेवा शाखाका प्राविधिक शाहुले पशु शाखाको जनशक्ति परिचालन गरेर छाडा चौपाया हेरालु, नगर प्रहरी वडा सँगको समन्वयमा बन्ध्याकरण गरिने भएकाले छुटै बजेट आवश्यक नपर्ने बताए ।
गोदावरीमा छाडा चौपायाको समस्या विकराल रहेको छ । छाडा चौपायाको समस्या स्थानीय देखि संघीय चुनावको मुद्दा समेत बन्दै आएको भए पनि यसको नियन्त्रणका भने हुन सकेको छैन ।



















