काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता देशका प्रमुख नदीहरू तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह पनि हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।

ठुला नदीमा तत्काल ठुलो सङ्कट नदेखिए पनि साना नदी तथा खोलाहरूमा भने बहाव तीव्र रूपमा बढ्ने सम्भावना छ। आज विशेष गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र ती आसपासका जिल्ला भएर बहने स–साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको ’मध्यम जोखिम’ रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ।


यो जोखिम आगामी दुई दिनसम्म अझ बिस्तार हुने महाशाखाको पूर्वानुमान छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरैजसो स–साना नदीहरूमा बहाव अचानक बढ्न सक्नेछ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही साना नदी तथा खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले आगामी तीन दिनसम्म देशका विभिन्न भागमा साना नदी किनारका बस्तीहरूले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।



















