दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–२ स्थित विकट काठा दुम्लिङमा श्रमदानमार्फत ७२ मिटर लामो झोलुङ्गे पुल अढाई महिनामै निर्माण सम्पन्न भएको छ । धरानका प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङको पहलमा गत चैत २४ गते सुरु गरिएको पुल अब उद्घाटनको तयारीमा रहेको छ ।

पुल निर्माणमा देशभरबाट चार सयभन्दा बढी नागरिकले श्रमदान गरेका थिए । अभियानका एडमिन म्यानेजर नवीन राईले श्रमदाताको सहयोगले छोटो समयमै पुल निर्माण सम्भव भएको बताउँदै असार १६ गते साम्पाङले पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

स्थानीयका अनुसार पुल निर्माणसँगै वर्षौंदेखिको खोला तर्ने जोखिम अन्त्य भएको छ । विद्यालय जाने बालबालिका, स्थानीय बासिन्दा तथा यार्चागुम्बा संकलनका लागि आवतजावत गर्ने नागरिकलाई ठूलो राहत पुगेको छ । यसअघि सरकारी तवरबाट दुई पटक सर्वेक्षण भए पनि पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो थियो ।
इन्जिनियर डम्बर लिम्बूका अनुसार स्थानीयको आवश्यकता र मागका आधारमा पुल निर्माण गरिएको हो । यद्यपि, भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि भने दुई देशबीच सहमति आवश्यक पर्ने भएकाले तत्काल सम्भव नरहेको बताइएको छ ।


















