अत्तरिया – कञ्चनपुर र कैलालीमा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरका विभिन्न मितिका फैसलाअनुसार फरार रहेका तीन जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।


पक्राउ पर्नेमा नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ बागवाणी निवासी २८ वर्षीय रोशन दमाई रहेका छन्। यस्तै, लागूऔषध खैरो हेरोइन मुद्दामा २० दिन कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ वाणी निवासी २४ वर्षीय चन्द्रबहादुर चन्द र सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएका बेदकोट नगरपालिका–२ दैजी निवासी ४६ वर्षीय रमेशबहादुर बोहरालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
त्यसैगरी, जिल्ला अदालत कैलालीको फैसलाअनुसार डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र ३३ हजार ७ सय ५० रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१८ निवासी ३२ वर्षीय रमेश खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।













