अत्तरिया– कैलालीको अत्तरियामा एक दिने तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गरिएको छ । सुर्याेदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बसन्तपुरले अत्तरियामा एक दिने तालिम सञ्चालन गरेको हो ।
तालिममा सहकारीमा आवद्ध महिला सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको एक औपचारीक कार्यक्रमका बिच समुद्घाटन गरिएको थियो । मीना अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल रहेका थिए । कार्यक्रममा चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारी, सहकारी संस्थाका अनुगमन अधिकृत कबिन्द्र शाही लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै वडाध्यक्ष मल्लले एक दिन मात्रै भएपनि सदस्यहरुको कृषि कार्यका लागि तालिम सहयोगी बन्ने बताए । उनले अहिले बजारमा विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता रहेको बताउदै स्थानिय कृषकहरुले अर्गानिक रुपमा विषादीरहित तरकारी उत्पादन गर्न सके कृषक र उपभोक्ता सबैको स्वास्थ्य पनि सुरक्षित रहने बताए । उनले जलवायु परिवर्तनको हाहाकारीका समयमा विषादीयुक्त तरकारी स्वास्थ्यका लागि एकदमै हानिकारक भएको बताउदै सकभर व्यवसायीक रुपमा र नभए आफूलाई प्रयोग गर्न पनि अर्गानिक तरकारी खेती गर्न आवश्यक रहेको औल्याए ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारीले निक्षेप र ऋण प्रवाह मात्रै नभई सदस्यहरुलाई आयआर्जनमा जोड्न सहकारीले गरेको कार्यको प्रशंसा गरे । उनले तालिमले कृषि कार्यमार्फत सदस्यहरुलाई आत्मनिर्भर बन्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । उनले कृषिमा मेहनत भएपनि अवसरहरु धेरै भएको बताउदै कृषकहरुका उत्पादनलाई बजारसम्म पु¥याउन चेम्बरले पनि सहयोग गर्ने बताए ।
संस्थाका बसन्तपुर शाखा प्रमुख दिपक महराले सदस्यहरुलाई तरकारी खेतीका बारेमा जानकारी दिन तालीमको आयोजना गरिएको बताए । उनले सहभागी सदस्यहरुलाई तरकारी खेतीको आधुनिक ज्ञान तथा सीप विकास, कम लागतमा बढी उत्पादन गर्ने तरिका, उन्नत बीउ, मल तथा सिँचाइ व्यवस्थापनबारे जानकारी तथा रोग र कीरा नियन्त्रणका उपायहरू सिक्न तालीमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । त्यसबाहेक पोषणयुक्त तरकारी उत्पादन गरी परिवारको स्वास्थ्य सुधार गर्न, व्यावसायिक खेती आयआर्जन र रोजगारीका अवसर उत्पादन गर्न, बजारमुखी उत्पादन र बिक्री व्यवस्थापनबारे ज्ञान प्राप्त तथा किसानहरूको आत्मनिर्भरता तथा आर्थिक अवस्था सुदृढ बनाउन पनि तालिम फलदायी सावित हुने उनको भनाई थियो ।
कार्यक्रममा सहकारी संस्थाका ४४ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकका रुपमा रोशन साउँद रहेका थिए ।


















