सन्तोष पन्त, बेलौरी – दुई वर्षपछि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा एक्स–रे मसिन आएको छ । प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रले बेलौरीमा नयाँ एक्स–रे मसिन पठाएको हो । २ वर्ष अघि बिग्रिएको एक्स–रे मसिन नबन्दा स्वास्थ्य केन्द्रले यही जेठको पहिलो साता मसिन पठाएको थियो । तर मेसिन भने अझै जडान गरिएको छैन ।
एक्स–रे मसिन सञ्चालनका लागि थ्री फेज लाइन आवश्यक भएकाले नयाँ आएको एक्स–रे मसिन जडान नगरिएको श्रीपुर स्वास्थ्य केन्द्र बेलौरीका प्रमुख गोविन्द बहादुर विष्टले बताए । उनका अनुसार लाइन जोड्नका लागि आवश्यक प्रक्रिया पूरा भइसकेकाले एक दुई दिनमा मसिन जडान गरिने छ ।


‘यस अघि हामी काहा सानो वाटको मसिन थियो, त्यसको सिआर सिस्टममा पावरको समस्या आयो । त्यो मर्मतको लागि साढे ३ लाख लाग्दो रहेछ । नगरपालिका, प्रदेशमा मर्मतको लागि पहल गर्दा समेत कसैले चासो नदेखाउँदा दुई वर्ष पछि नयाँ मेसिन नै पठाइयो’ प्रमुख विष्टले भने ।
२०८१ साल भदौमा बिग्रिएको पुरानो एक्स–रे मेसिनको सट्टा नयाँ पठाएपनी सञ्चालनका लागि जनशक्ति भने स्वास्थ्य केन्द्रमा नरहेको विष्टले बताए । उनले भने ‘स्वास्थ्य केन्द्रमा २२ जना कर्मचारी छन्,तर मेसिन सञ्चालन गर्ने जनशक्ति छैन विष्टले भने ‘यहाँ अल्ट्रासाउन्ड सेवा पनि छ, तर जनशक्ति छैन ।’
उनका अनुसार स्वास्थ्य केन्द्रमा रेडियोग्राफर, फार्मेसिस्ट अतिआवस्यक भएपनी सम्बन्धित सरोकारवाला निकायले कुनै चासो दिएका छैनन् । नगरपालिका, सामाजिक विकास मन्त्रालयमा जनशक्तिको लागि पटक पटक पत्र पठाउँदा समेत कुनै रेस्पोन्स नआएको विष्टको भनाइ छ ।
यसबारे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर चन्दले सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी नदिँदा जनशक्ति अभाव भएको बताए । ‘स्वीकृत दरबन्दी छैन, करारमा दरबन्दी गरेर कर्मचारी भर्ना गर्नुपर्ने हो, कार्यपालिकाको निर्णयबाट यस्तो गर्न सकिन्छ’ उनले भने । अल्ट्रासाउन्ड मेसिनका लागि अलग्गै एक जना रेडियोलोजिस्ट चाहिने चन्दले बताए ।



















