खाेज्नुहाेस

कञ्चनपुरमा ईभी हाईस दुर्घटना हुँदा १३ जना घाइते

Image

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्रराजमार्गमा सोमबार दिउँसो ईभी हाईस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दिउँसो करिब ३ः३० बजे धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको ईभी हाईस अनियन्त्रित भई सडक छेउको नालातर्फ पल्टिएको थियो । दुर्घटनामा हाईसमा चालकसहित १७ जना सवार रहेकोमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital
navjiwan hospital

दुर्घटनामा कृष्णपुर नगरपालिका–९ पिपरियाका ४३ वर्षीय पुष्करराज गिरी, बेदकोट नगरपालिका–१० नयाँगाउँका २० वर्षीय जीवनसिंह कडाल, टिकापुर नगरपालिका–९ खैरीफाटाकी ४५ वर्षीया राधादेवी शाह तथा धनगढी उपमहानगरपालिका–५ हसनपुरकी २५ वर्षीया सम्झना सिंह मध्यम घाइते भएका छन् ।

यस्तै धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६१ वर्षीया सरस्वतीदेवी कुँवर, १७ वर्षीया आंशिका कुँवर, १६ वर्षीया पुष्पा बोहरा, धनगढी–६ हसनपुरकी ५५ वर्षीया विष्णु सिंह, दार्चुलाको महाकाली नगरपालिका–१ फापरीका ६० वर्षीय गजेन्द्रसिंह कुँवर र ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडमकी ५५ वर्षीया ईश्वरीदेवी भुल, उनका २२ वर्षीय छोरा सुनिल भुल तथा अजयमेरु गाउँपालिका–६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त सामान्य घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।

हाईस चालक कञ्चनपुरको सुन्दरपुर निवासी २८ वर्षीय हेम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।