खाेज्नुहाेस

बेलडाँडीमा सिकलसेल एनिमिया तथा थालासेमिया रोगबारे सचेतना कार्यक्रम

Image

बेलौरी – बेलडाँडीमा सिकल सेल एनिमिया तथा थालासेमिया रोगबारे सरोकारवालाहरूबिच सचेतना कार्यक्रम गरिएको छ । मङ्गलवार बेलडाँडी गाउँ पालिकाको स्वास्थ्य शाखाले हेमोग्लोविनोप्याथी अन्तर्गत पर्ने जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिकल सेल एनिमिया तथा थालासेमिया रोगबारे सरोकारवालाबिच सचेतना कार्यक्रम गरेको हो ।

navjiwan hospital

कार्यक्रममा बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अरबिन्द्र कुमार शाहीले हेमोग्लोविनोप्याथी अन्तर्गत पर्ने सिकल सेल एनिमिया र थालासेमियाबारे जानकारी गराउँदै यी रोगहरू रगतसँग सम्बन्धित अनुवांशिक रोग भएको बताए ।

attariya hospital

उनका अनुसार थालासेमिया शिशु जन्मेको तीन महिनादेखि पाँच–छ वर्षको उमेरसम्म देखिन सक्ने रोग हो । यस रोगका कारण शरीरमा हेमोग्लोबिन उत्पादनमा समस्या उत्पन्न भई अक्सिजनको प्रवाहमा असर पर्ने गर्दछ । स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार कञ्चनपुर जिल्लामा हालसम्म २८९ जना सिकल सेल रोगी पहिचान भएका छन् । जसमध्ये बेलडाँडी गाउँपालिकामा २२ जना, भीमदत्त नगरपालिकामा २२ जना, बेदकोट नगरपालिकामा १६ जना, शुक्लाफाँटा नगरपालिकामा २० जना, कृष्णपुर नगरपालिकामा ६१ जना, लालझाडी गाउँपालिकामा २९ जना, पुनर्वास नगरपालिकामा २४ जना तथा बेलौरी नगरपालिकामा ९५ जना बिरामी रहेका छन् ।

कार्यक्रममा नेपालमा हेमोग्लोविनोप्याथी रोगको अवस्था, नवजात शिशु परीक्षण, विवाहपूर्व परीक्षणको आवश्यकता तथा थारु समुदायमा देखिएको जोखिमबारे समेत जानकारी गराइएको थियो । पश्चिम नेपालका केही सामुदायिक अध्ययनहरूले थारु समुदायमा करिब पाँच प्रतिशतसम्म बिटा थालासेमिया विशेषता रहेको देखाएको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो । सिकल सेल रोगको पहिचानका लागि रगत परीक्षण गर्नुपर्ने, परीक्षणका लागि विशेष तयारी वा खाली पेट बस्न आवश्यक नपर्ने तथा रगत चढाउनुअघि परीक्षण गराउनु उपयुक्त हुने जानकारी पनि कार्यक्रममा दिइएको थियो । रगत चढाइसकेको अवस्थामा कम्तीमा एक महिनासम्म परीक्षण नगर्न सुझाव दिइएको थियो ।